काठमाडौं, असोज ५ — तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई स्थानीय युवाहरूले निःशुल्क खाना र खाजासँगै आश्रय उपलब्ध गराएका छन्। जेसीज इच्छाकामनाको नेतृत्वमा शनिबार यात्रुहरूको सहयोग गरिएको हो।
जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार, अलपत्र परेका यात्रुहरुलाई चाउचाउ, बिस्कुट, पानी वितरणसँगै राति बस्नको लागि मगर समाज मुग्लिनको भवनमा व्यवस्था मिलाइएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए अनुसार, सडक पन्छाउने कार्य जारी छ। मुग्लिन र नारायणगढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ। जिल्ला प्रशासनको पहलमा पनि यात्रुहरूलाई पानी र खाद्यान्न उपलब्ध गराइएको छ।



