काठमाडौं, जेठ २३ — उपत्यकाका प्रमुख नदीहरूलाई सफा र सुन्दर बनाउने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त बजेटबाट बागमतीसहित अन्य नदीहरूलाई ढलमुक्त बनाउन र करिडोर सडकहरूको स्तरोन्नति गर्न प्राथमिकता दिइएको जानकारी दिएका हुन्।
गोकर्णेश्वर–५ बागमती करिडोरमा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री सिंहले वातावरण संरक्षणलाई सबै नागरिकको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। उनले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै बागमती नदी सफाइमा चासो राख्दै आएको उल्लेख गर्दै, बागमतीसँगै विष्णुमती, धोबीखोला लगायत उपत्यकाका अन्य प्रमुख नदीहरूलाई पनि स्वच्छ बनाउने काम तीव्र गतिमा भइरहेको बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर क्षेत्रमा मात्रै ४० करोडभन्दा बढीको योजना ल्याइएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहप्रति आभार व्यक्त गरे।
सरकारको यो प्रयासले उपत्यकाका नदीलाई ढलमुक्त बनाउँदै स्वच्छ र हरित शहर निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



