काठमाडौँ, भदौ १३ — रूसले बिहीबार युक्रेनमाथि व्यापक आक्रमण गरेको छ। युक्रेनी सुरक्षा निकायका अनुसार ५९८ ड्रोन र ३१ क्षेप्यास्त्रको प्रयोग गरिएको यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भेटवार्ताको १३ दिनपछि भएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे प्रतिक्रिया दिंदै भने, “रूसले शान्ति रोजेको छैन, मिसाइल रोजेको छ।” रूसी मिसाइलका छर्राबाट कीभस्थित ब्रिटिश काउन्सिल कार्यालय र युरोपेली संघका केही भवनमा क्षति पुगेको छ। बेलायत र युरोपेली संघले रूसलाई कडा चेतावनी दिएका छन् भने ह्वाइट हाउसले वार्ता जारी रहने जनाएको छ।
यसैबीच अमेरिकी सांसद लिन्डसे ग्राहामले भारत, चीन र ब्राजिल लगायतले रूसबाट सस्तो तेल किनेर युद्ध मेसिनलाई शक्ति दिएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंहरूको खरिदले निर्दोष मानिसहरूको ज्यान गइरहेको छ, तीमध्ये बच्चाहरू पनि छन्।” उनले भारतलाई समेत यसबारे विचार गर्नुपर्ने चेतावनी दिएका छन्।
रूसको आक्रमणले युक्रेनमा आम नागरिकलाई ठूलो जोखिममा पारेको र अन्तर्राष्ट्रिय समुदायमा थप तनाव सिर्जना गरेको छ।



