काठमाडौं, ६ असार — फिल्म ‘माग्ने राजा’को पोस्टर शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ। यो फिल्म भदौ ६ गतेबाट प्रदर्शनमा आउने तय भएको छ। विशेष आकर्षणमा अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’लाई फिल्मकै पात्रका रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कलाकार वर्षा सिवाकोटी र विल्सनविक्रम राई पनि सहभागी थिए। पोस्टर सार्वजनिक पश्चात् कलाकारहरूले मिडियासँग संवाद गर्दै आफ्नो-आफ्नो भूमिका र चरित्रबारे चर्चा गरे। फिल्मको कथा गरिब व्यक्तिको धनी बन्ने महत्वाकाङ्क्षामा आधारित छ।
निर्देशक ऋषि लामिछानेले यो फिल्म निर्देशन गरेका हुन् भने पटकथा सामीप्य तिमल्सिनाले लेखेका छन्। निर्माता मुनाल घिमिरे रहेका छन्। फिल्मले दर्शकलाई सामाजिक संघर्ष र आशाका कथा मार्फत सन्देश दिन खोजेको छ।



