काठमाडौं, भदौ २४ — जेन–जी आन्दोलनमा सरकारी दमनका कारण १९ जनाले ज्यान गुमाएको घटनापछि खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। उनले सरकारमा बसेर नैतिक रूपमा आफूलाई सहज नलागेको भन्दै मन्त्री पदबाट अलग भएको घोषणा गरेका हुन्।
मन्त्री यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा युवा पुस्ताप्रति विशेष आभार प्रकट गरेका छन्। उनले भनेका छन्, “प्रिय युवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू नै मेरो उर्जा र प्रेरणाको आधार हुनुहुन्छ। हिजो भएको आन्दोलनमा तपाईँहरूले देखाउनुभएको जागरण र त्यसप्रति सरकारले देखाएको दमन अस्वीकार्य छ। त्यसको विरोधस्वरूप म खानेपानी मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिन्छु।”
उनको यो निर्णयलाई कतिपयले सरकारप्रतिको असन्तोषको प्रत्यक्ष संकेतका रूपमा व्याख्या गरेका छन्। एकातिर आन्दोलनले देशभर आक्रोश फैलाइरहेको छ भने अर्कोतर्फ मन्त्रिपरिषदभित्रैबाट राजीनामाको श्रृंखला सुरु भएको छ। यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदत्याग गरिसकेका थिए।
त्यस्तै, स्वास्थ्य मन्त्रालय सम्हालिरहेका प्रदीप पौडेलले समेत चाँडै राजीनामा दिने तयारी गरेको जानकारी सार्वजनिक भएको छ। लगातारका राजीनामाले सरकारभित्रको संकट झन् गहिरिँदै गएको देखिएको छ।



