काठमाडौँ, साउन २८ – नेपाल सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई नगद ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
उक्त निर्णय मन्त्रिपरिषद्को हालै बसेको बैठकमा प्रोत्साहन स्वरूप गरिएको हो। साथै, रवीन्द्र ढाँटका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको छ।
रवीन्द्रले भारतको नोएडा शहरमा भएको एमएफएन १७ मा भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै यो उपाधि प्राप्त गरेका थिए। यस जीतले नेपालबाट बान्टमवेटमा च्याम्पियन बन्ने पहिलो खेलाडीको रूपमा पनि उनको नाम लेखिएको छ। उनले आफ्नो व्यावसायिक रेकर्डलाई ८–१ मा पुऱ्याएका छन्।
यस पुरस्कारले नेपाली खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने र एमएमएका क्षेत्रका युवा खेलाडीहरूको हौसला बढाउने अपेक्षा गरिएको छ।



