काठमाडौं, २२ असार — रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि बुटवल–१९, मोतिपुरका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। गैरेले आइतबार पत्रकार सम्मेलन गर्दै विद्यार्थी जीवनदेखि कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको र नागरिकमा बढ्दो राजनीतिक वितृष्णाका कारण स्वतन्त्र उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन्।
गैरेले राज्यका हरेक निकायमा चरम राजनीतिकरण हुँदा नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै, सुशासन, न्यायपूर्ण बजेट वितरण र राम्रा कानून निर्माणका लागि स्वतन्त्र उम्मेदवारको जित आवश्यक रहेको तर्क गरेका छन्। उनले आफू स्थानीय भएकाले क्षेत्रका सबै वर्ग र समुदायका समस्यासँग परिचित रहेको दाबी गरेका छन्।
उनका मुख्य एजेण्डामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन, तिनाउ नदीमा हुने ढुंगा, गिटी, बालुवाको चोरी निकासी नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली तथा चोरी नियन्त्रण, मल, बिउ, सिँचाइको समस्या समाधान, पर्यटन प्रवर्द्धन र सुशासन कायम गर्ने विषयहरू रहेका छन्।
यस उपचुनावमा प्रमुख दलहरूबाट विभिन्न आकांक्षीको नाम चर्चामा छ। नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल, एमालेबाट खिमलाल भट्टराई, शशि पौडेल, दधिराम न्यौपाने, भरत पोखरेल, हरि अधिकारी, राप्रपाबाट दिवंगत दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, सागरप्रताप राणा, माओवादी केन्द्र/विपक्षी गठबन्धनबाट घनश्याम भुसाल (नेकपा एस), कमल भण्डारी, रास्वपाबाट सभापति मधु अर्याल, ज्ञानु पौडेल, गौरव बोहरा (संभावित), नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, धनिराम चौधरीको नाम चर्चामा छ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २०,२७८ मत, एमालेले १६,९८६ मत, रास्वपाले १४,१५४ मत, राप्रपाले ९,१८३ मत, नागरिक उन्मुक्ति पार्टीले ६,००० मत, जसपाले ५,००० मत, लोसपाले ५,००० मत, जनमत पार्टीले ३,७०० मत, माओवादी केन्द्रले २,६०० मत, जनमुक्ति पार्टीले १,९०० मत, हाम्रो नेपाली पार्टी (लौरो)ले १,३४७ मत र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएको थियो।
२०७९ सालको निर्वाचनमा राप्रपाका दीपक बोहरा विजयी भएका थिए। बोहराको निधनपछि रिक्त भएको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यसपटक स्वतन्त्र उम्मेदवारको रूपमा लेखनाथ गैरेको प्रवेशले प्रतिस्पर्धा थप रोचक बनेको छ।



