काठमाडौं, असोज ३ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन्। उनले यसलाई पूरा गर्न नसकिए ठूलो निराशा उत्पन्न हुने चेतावनी पनि दिए।
मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने भन्दै काममा ढिलाइ गर्न नहुने निर्देशन दिए। उनका अनुसार हालसम्म भवन निर्माण कार्य ८६ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी फल्स सिलिङ, इलेक्ट्रिकल प्रणाली, फायर फाइटिङ जस्ता प्राविधिक काम समयमै सम्पन्न गर्नुपर्ने छ।
उनले भने, “जेनजी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण हो, यदि यसलाई सफल बनाउन सकिएन भने ठूलो निराशा सिर्जना हुनेछ। त्यसैले कुनै पनि बहानामा ढिलाइ गर्नु हुँदैन।”
मन्त्री घिसिङले मन्त्रालय र मातहतका निकायमा हुने अनियमितता रोक्न कडाइका साथ निर्देशन दिएका छन्। अनियमितता फेला परेमा तत्काल कारबाही गर्ने चेतावनी दिँदै उनले एक रुपैयाँ पनि दुरुपयोग गर्न नदिने बताए। साथै, सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सजग रहन पनि निर्देशन दिएका छन्।



