काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभर २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस वर्षका लागि योजना सार्वजनिक गर्दै झोलुङ्गे पुल निर्माणका साथै मर्मतसम्भारका कामहरू पनि गर्ने जानकारी दिएको छ।
मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार, आगामी वर्षमा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गरिनेछ भने १०० वटा झोलुङ्गे पुल मर्मतसम्भार गरिनेछ। साथै, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने र ३० वटा सडक पुल मर्मत गर्ने योजना पनि रहेको छ।
त्यसैगरी, सरकारले २४९ वटा सिँचाइ आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिँचाइयोग्य बनाउने लक्ष्य राखेको छ। सडक क्षेत्रमा पनि ठूलो काम हुने छ, जसमा १०० किलोमिटर नयाँ सडक निर्माण र ३०० किलोमिटर सडक कालोपत्रे गरिनेछ।
सहरी विकास मन्त्रालयले उपत्यकाका नदी तथा खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण गर्ने, साथै अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने जनाएको छ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशालाको दोस्रो चरणको निर्माण सुरु गर्ने, सिंहदरबार परिसरमा नयाँ मन्त्रालय भवन निर्माण गर्ने र सभामुख तथा प्रधानन्यायाधीशको आवास निर्माण गर्ने योजना पनि अघि सारेको छ।
यसैगरी, भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल र मनोरञ्जन पार्क निर्माणको काम पनि अघि बढाइनेछ।
सरकारले २०८१ सालको बाढीबाट क्षतिग्रस्त वागमती, विष्णुमती, मनोहरा र नख्खु खोलाका संरचनाहरू पुनःनिर्माण गर्ने, ऐतिहासिक मठ, मन्दिर र पाटीहरूको जीर्णोद्धार गर्ने, र खोलाहरूको सरसफाइ कार्यलाई पनि प्राथमिकतामा राखेको छ।
सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापन, नगर विकास कोष, बागमती सभ्यता संरक्षण र बस्ती विकाससम्बन्धी विधेयक तथा नियमावली तयार गर्ने कार्य पनि अगाडि बढाइरहेको छ।
यस योजनाले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने र ग्रामीण तथा शहरी क्षेत्रमा आवागमन र विकासका नयाँ मार्ग खोल्ने अपेक्षा गरिएको छ।



