१५ साउन, काठमाडौं — प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रविधिको प्रयोगलाई संस्थागत बनाउन र संसद्को कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैठौं विश्व सम्मेलनमा बोल्दै उनले प्रविधिले नीति निर्माणमा जनताको सहभागिता सुनिश्चित गर्न उल्लेखनीय भूमिका खेलिरहेको बताए।
सभामुख घिमिरेका अनुसार सामाजिक सञ्जाल, ई-संसद प्रणाली, डिजिटल अभिलेख र इलेक्ट्रोनिक मतदान जस्ता उपकरणहरूले संसदलाई पारदर्शी र पहुँचयोग्य बनाएका छन्। उनले वर्तमान डिजिटल युगमा सांसदहरूले मेसिन लर्निङ, स्पीच-टु-टेक्स्ट, डेटा सेन्टर र डिजिटाइजेशन जस्ता प्रविधिको उपयोग गरेर संसद र नागरिकबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउन सक्ने धारणा राखे।
नेपालमा कृत्रिम बुद्धिमत्ता र सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण प्रक्रियामा सरकार सक्रिय रहेको उनले जानकारी गराए। उनले संसद् कार्यप्रणालीलाई आधुनिक बनाउन यस्ता विधेयक आवश्यक भएको बताए।
सभामुख घिमिरेले प्रविधिको दुरुपयोग — जस्तै गलत सूचना, भ्रमपूर्ण प्रचार र डीप फेक प्रविधिको समस्याबारे पनि सचेत रहनुपर्ने आवश्यकता औंल्याए। सांसदहरूको कर्तव्य नीतिनिर्माणसँगै डिजिटल साक्षरता विस्तार गर्नु पनि रहेको उनको भनाइ थियो।
उनले भने, “डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षाका लागि स्थायी स्रोत सुनिश्चित गर्नु अत्यावश्यक छ। सांसदहरूको भूमिका अब भाषणमा मात्र सीमित छैन, उनीहरूको प्रभाव डिजिटल पहुँच र जनविश्वासमा प्रतिबिम्बित हुन्छ।”
सभामुख घिमिरे साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए। पाँच वर्षमा एक पटक आयोजना हुने यो सम्मेलनमा विभिन्न देशका सभामुखहरूको उपस्थितिमा संसद्को भविष्य र प्रविधिको भूमिकाबारे छलफल भएको थियो। उनी आउँदो आइतबार स्वदेश फर्किने कार्यक्रम छ।



