काठमाडौं, साउन ७ — केही दिनदेखि लगातार उकालो लागेको सेयर बजार बुधबार केही थामिएको देखिएको छ। नेप्से परिसूचकमा आज केवल ५.१७ अंकको वृद्धिमात्र देखिएको छ, जसले समग्र नेप्सेलाई २,९७८.८८ विन्दुमा पु¥यायो।
बजार विश्लेषकहरूका अनुसार अघिल्ला ६ दिनको लगातारको उकालो पछि धेरै लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेका कारण बजारको गति केही सुस्त भएको हो। कारोबार अवधिभर बजार अधिकांश समय ओरालो लागे पनि अन्त्यतिर केही कम्पनीमा खरिद चाप बढेपछि बजार सन्तुलनमा फर्किएको हो।
आज कूल ४ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्, जसबाट करिब १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो दिनको २० अर्बभन्दा केही कम हो।
आजको कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा, १५२ कम्पनीको घटेको छ। १३ वटै उपसमूहमध्ये बैंकिङ, विकास बैंक, होटल-पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त क्षेत्रको सूचक घट्दा बाँकी क्षेत्रमा सुधार देखिएको छ।



