काठमाडौँ, असार २० — विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन्। उनी स्पेनको भ्रमण सकेर अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सूचना तथा प्रसारण विभागले जनाएको छ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १४ गते स्पेन प्रस्थान गरेका थिए। भ्रमणको क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग भेटवार्ता गरेका थिए।
भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित राष्ट्रहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए। साथै, विकास सहायता र आर्थिक सहकार्यसम्बन्धी छलफल सत्रहरूमा पनि उनको सक्रिय सहभागिता रहेको थियो।
भ्रमणको अन्तिम दिन उनले रियल म्याड्रिड क्लबको सान्टियागो बर्नाबाउ रंगशाला समेत अवलोकन गरेका थिए। साथै, स्पेनस्थित नेपाली दूतावासको निरीक्षण र नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया पनि उनले सम्पन्न गरेका थिए।



