फुटबलको संसारले आज एउटा असाध्यै प्रिय खेलाडी गुमाएको छ। लिभरपुल र पोर्चुगल राष्ट्रिय टिमका स्टार डिएगो जोटा अब हामीसँग छैनन्। २८ वर्षका जोटा बिहीबार उत्तरी लन्डनमा भएको एक भीषण सवारी दुर्घटनामा परे। दुर्घटनापछि गाडीमा आगलागी भयो, जसमा जोटा र उनका भाइ आन्द्रे दुवैको घटनास्थलमै निधन भयो।
जोटा कुनै सामान्य खेलाडी थिएनन्। उनले फुटबलमा मात्र होइन, लाखौं समर्थकको मनमा पनि गहिरो स्थान बनाएका थिए। जोटा हाल लिभरपुलका लागि खेलिरहेका थिए र क्लब तथा समर्थकहरूबीच अत्यन्त लोकप्रिय थिए। उनले क्लबका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका थिए।
उनको उत्कृष्ट प्रदर्शनले लिभरपुललाई लिग कप र एफए कप जस्ता उपाधिहरू जित्नमा ठूलो योगदान पुर्याएको थियो। जोटाले लिभरपुलका लागि आफ्नो पहिलो चार खेलमै गोल गर्दै क्लब इतिहासमा नाम लेखाएका थिए।
दुर्घटनाको खबर सार्वजनिक भएपछि एनफिल्ड रंगशालामा समर्थकहरूले स्कार्फ, फूल, र शर्टसहित श्रद्धाञ्जली अर्पण गरेका छन्। क्लबले पनि जोटाको निधनलाई “अकल्पनीय क्षति” भनेर वर्णन गरेको छ। हिल्सबरो त्रासदी स्मारक नजिकै श्रद्धाञ्जली दिने क्रममा क्लब समर्थकहरूको व्यापक उपस्थिति देखिएको छ।
जोका साथी तथा पोर्चुगल टिममेट क्रिस्टियानो रोनाल्डोले पनि गहिरो दुःख व्यक्त गर्दै जोटाको सम्झनामा श्रद्धाञ्जली दिएका छन्। केही हप्ताअघि मात्र जोटाले आफ्नो प्रेमिका रुट कारडोसासँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।



