काठमाडौं, २२ असार — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले देशमा व्याप्त भ्रष्टाचारको लागि नेताहरूलाई दोषी ठहर गर्दै उनीहरूको “रगतमै भ्रष्टाचार मिसिएको” आरोप लगाएकी छन्।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद कार्कीले नेपालमा उड्न नसक्ने जहाज किन्ने र चल्न नसक्ने विमानस्थल निर्माण गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको प्रतिफल बताइन्।
उनले सरकारी ढुकुटी र स्रोतहरूको चरम दुरुपयोग भइरहेको उल्लेख गर्दै, राजनीतिक नियुक्ति र निर्णयहरूमा पनि भ्रष्टाचार हाबी भएको बताइन्।
बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ को संशोधनबारे छलफल भइरहेको बेला सांसद कार्कीले यस्तो कडा टिप्पणी गरेकी हुन्।
उनको भनाइ अनुसार, जबसम्म नेतृत्वस्तरमै सुधार हुँदैन, तबसम्म हवाई सेवाजस्ता संवेदनशील क्षेत्रसमेत दलाली र भ्रष्टाचारको खेलमैदान बन्नेछ।



