काठमाडौं — नेपाली सेयर बजार लगातार तीन दिनदेखि उकालो लागेको छ। मंगलबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० मा पुगेको छ। यसअघि आइतबार २६ अंक र सोमबार ९ अंकले बजारमा वृद्धि भएको थियो।
मंगलबार कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ।
लगानी समूहमा सबैभन्दा धेरै २.३८ प्रतिशतको वृद्धि देखिएको छ। माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बीमा, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, निर्जीवन बीमा लगायत अधिकांश सूचक सकारात्मक रहे। उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने सामान्य गिरावट आएको छ।
आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.८७ प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। युनिलिभर नेपालको मूल्य भने २.१३ प्रतिशतले घटेको छ।
कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर अग्रस्थानमा रहे। बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको देखिएको छ।



