काठमाडौं, साउन ९ — संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा संशयपूर्ण हेरफेर भएको भन्दै गठित संसदीय विशेष छानबिन समितिलाई कार्यअवधि थप गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको म्याद एक साताका लागि थप गर्ने प्रस्ताव पेस गरेपछि सभाले सर्वसम्मतिले स्वीकृति दिएको हो।
उक्त समिति असार २३ गते बसेको प्रतिनिधिसभाको निर्णय अनुसार गठन गरिएको हो, जसले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था कसरी परिवर्तन गरियो भन्नेबारे अनुसन्धान गरिरहेको छ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एकजना सदस्य सहभागी छन्। समितिले असार २३ देखि २१ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने म्याद पाएको थियो।
तर अनुसन्धानका लागि समय पर्याप्त नभएको भन्दै समितिले समय थप गर्न अनुरोध गरेको थियो, जसलाई आजको बैठकले स्वीकृति दिएको हो। अब समितिले आगामी ७ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ।



