काठमाडौँ , साउन १५— प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘फिफा फर स्कुल’ अभियानको औपचारिक उद्घाटन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजना गरिएको कार्यक्रममा उनले करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण गर्ने अभियानको सुरुवात गरेका हुन्।
यो अभियान अन्तरगत, ‘फिफा’ र युनेस्कोको सहकार्यमा नेपालभरका करिब १०७२ विद्यालयलाई निःशुल्क ३२,६४० फुटबल वितरण गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको खेल क्षेत्र विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला बनाउने योजना घोषणा समेत गरेका छन्।
यो ‘फिफा फर स्कुल’ कार्यक्रमले विद्यालय तहमा फुटबललाई समावेश गर्दै बालबालिकामा जीवन कौशल, समावेशीता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साथै, यसले शिक्षक र प्रशिक्षकहरूलाई फुटबलसँग सम्बन्धित तालिम प्रदान गरी खेलकुदमा विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउने लक्ष्य राखेको छ।
उनले बालबालिकामा खेलप्रतिको रुचि बढाउने तथा युवाहरूलाई खेलमार्फत प्रेरित गर्ने उद्देश्यले यो अभियान सफल बनाउन सबैलाई आग्रह गरे।



