काठमाडौं, भदौ ५ – इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो आक्रमण सुरु गरेको छ। सेनाले गाजा शहर कब्जा गर्ने योजनाअनुसार कारबाही अघि बढाएको दाबी गरेको छ। हालसम्म गाजा शहरको बाहिरी भाग आफ्नो नियन्त्रणमा ल्याइसकेको इजरायली सेनाले जनाएको छ।
सैनिक स्रोतका अनुसार जबालिया र जैतुन क्षेत्रमा पहिल्यैदेखि सैनिक तैनाथ गरिएकाले अब गाजामा प्रत्यक्ष प्रवेश र नियन्त्रणको प्रक्रिया सहज हुने बताइएको छ। यो सैन्य कदमलाई गत मंगलबार इजरायलका रक्षामन्त्री इस्राइल काट्जले स्वीकृति दिएका थिए, जसलाई यसै साताको अन्त्यसम्म सुरक्षा क्याबिनेटमा प्रस्तुत गर्ने तयारी छ।
युद्ध कारबाहीका कारण गाजाका सर्वसाधारण नागरिकमा ठूलो मानवीय संकट उत्पन्न भएको भन्दै विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूले कडा विरोध गरिरहेका छन्। तर इजरायलले हमास समूहलाई पूर्णरूपमा नष्ट नगरेसम्म सैन्य अभियान नरोकिने अडान दोहोर्याइरहेको छ।
यसबीच, हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको र निर्दोष नागरिकको ज्यान लिएको आरोप लगाएको छ।
यो द्वन्द्व सुरुवात भई ७ अक्टूबर २०२३ मा हमासले इजरायलको किबुज क्षेत्रमा आक्रमण गर्दा नेपालीसहित करिब १,२०० जनाले ज्यान गुमाएका थिए। त्यसपछि इजरायलले हमास र उसका समर्थकहरूको विरुद्ध निरन्तर सैन्य कारबाही जारी राखेको छ। यो तनाव र संघर्षले क्षेत्रीय सुरक्षा र मानवीय संकट झनै गम्भीर बनाएको छ।



