काठमाडौं, भदौ ५ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय शिक्षा प्रणालीलाई समयानुकूल बनाउन पाठ्यक्रममा प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले डिजिटल युगमा शिक्षा प्रविधि–मैत्री नबनाइए मुलुक पछि पर्ने चेतावनी दिए। “पाठ्यक्रममा प्रविधि जोडिनु अब विकल्प होइन, अनिवार्य आवश्यकता हो,” भण्डारीको भनाइ थियो।
यसै बैठकमा शिक्षक सरुवासम्बन्धी व्यवस्थामा उठेका विवादबारे पनि उनले धारणा राखे। हाल शिक्षकहरूले सरुवाको प्रावधानप्रति असन्तुष्टि जनाइरहेको उल्लेख गर्दै, रिक्त पदमा सरुवाको व्यवस्था स्पष्ट पार्नुपर्ने उनले सुझाव दिए।
यस्तै, प्राध्यापकहरूको संलग्नता सम्बन्धी विषयमा समेत छलफल भयो। भण्डारीले प्राध्यापकहरूले राजनीतिमा सक्रिय हुन नपाउने र आफ्नै पेशागत संगठनमै सीमित हुनुपर्ने व्यवस्था विधेयकमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताए। उनले नयाँ संगठन खोल्ने अधिकारसमेत नदिइने गरी प्रावधान टुंग्याउनुपर्ने धारणा राखे।
समितिमा अहिले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि धाराप्रवाह छलफल भइरहेको छ।



