काठमाडौँ। साउन महिनाको अवसरमा पशुपतिनाथ मन्दिरमा जल चढाउन र दर्शन गर्न आउने भक्तजनहरूको सुविधाका लागि सशस्त्र प्रहरी परिवार महिला संघले निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ।
साउनको प्रत्येक सोमबार आयोजना हुँदै आएको यस कार्यक्रममा नेपाल एपीएफ (APF) अस्पतालका अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मन्दिर परिसरमै दर्शनार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक औषधि उपचार र स्वच्छ खानेपानी वितरण गर्दै आएका छन्। गर्मी र अत्यधिक भीडका कारण हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै शिविरमार्फत सयौँ भक्तजनले प्रत्यक्ष सेवा लिइरहेका छन्।
विपद् व्यवस्थापन र आकस्मिक उद्धार टोली तैनाथ
स्वास्थ्य सेवासँगै पशुपति क्षेत्रमा सुरक्षा र आपत्कालीन उद्धारको विशेष प्रबन्ध मिलाइएको छ:
बागमती किनारमा बोट टोली: बागमती नदी किनारमा १० जनाको तालिमप्राप्त विपद् व्यवस्थापन टोलीलाई र्याफ्टिङ बोट (Rafting Boat) र आधुनिक उद्धार सामग्रीसहित चौबीसै घण्टा तैनाथ (Standby) राखिएको छ।
एम्बुलेन्स सेवा: कुनै पनि आकस्मिक स्वास्थ्य समस्या वा दुर्घटना भएमा तत्काल अस्पताल पहुँचाउन सशस्त्र प्रहरी बल, नेपालको एम्बुलेन्स मन्दिर परिसरमै तयारी अवस्थामा छ।
पशुपति क्षेत्र विकास कोष र सुरक्षा निकायको संयुक्त समन्वयमा मिलाइएको यस एकीकृत व्यवस्थाले दूरदराजबाट आएका बोलबम यात्रु तथा सर्वसाधारण भक्तजनलाई निर्धक्क भई पूजा-आजा गर्ने वातावरण बनेको छ।



