काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि यही साउन २८ गते स्वदेश फर्किन लागेका छन्। उनको आगमनलाई लक्षित गर्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहले करिब पाँच हजार नेता–कार्यकर्ताको उपस्थितिमा भव्य स्वागत गर्ने तयारी गरेको छ।
सुरुमा देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम थियो। तर, रातिको समयमा ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुन असहज हुने भन्दै पार्टी नेता तथा कार्यकर्ताहरूको मागपछि उडानको समय परिवर्तन गरिएको हो। नेता डा. प्रकाशशरण महतले दिएको जानकारीअनुसार अब देउवा साउन २८ गते दिउँसो १२:२५ बजे थाई एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
स्वागत कार्यक्रम राष्ट्रिय भेला आयोजक समन्वयक डा. शशांक कोइरालाको नेतृत्वमा आयोजना गरिनेछ। नेता एनपी साउदका अनुसार विमानस्थलमा स्वागत गरिसकेपछि करिब पाँच हजार नेता–कार्यकर्ताले देउवालाई धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी रहेको छ। उपत्यकाबाहिरबाट आउने तथा काठमाडौंमा रहने प्रजातन्त्रवादी नेता–कार्यकर्ता विमानस्थलमै पुगेर देउवाको स्वागत गर्नेछन्।
देउवा २०८२ फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। त्यसपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए। करिब पाँच महिना विदेश बसेर फर्किन लागेका देउवा स्वदेश फर्किएको भोलिपल्टै आफूनिकट नेताहरूले राखेको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनको पक्षको राष्ट्रिय भेला साउन ३० गतेदेखि सुरु हुने तयारी छ।



