काठमाडौँ, साउन १५ — नेपाली फिल्म ‘गुन्योचोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता नाजिर हुसेनले पारलैङ्गिक (ट्रान्सवुमन) पात्रको भूमिकामा आफ्नो पहिचान र संघर्षको कथा प्रस्तुत गरेका छन्।
यस फिल्ममा नाजिरसँगै सञ्चिता लुइटेल र सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। भदौ १३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले समाजमा अझै पनि संवेदनशील मानिने विषयलाई उठान गरेको छ।
फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् र यो फिल्म केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत सहभागी भइसकेको छ। नाजिरको यो नयाँ अवतारले फिल्मलाई दर्शक र समीक्षकहरू माझ निकै चर्चा पाएको छ।
‘गुन्योचोलो : द ड्रेस’ मा राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी जस्ता कलाकारहरूले पनि अभिनय गरेका छन्। फिल्ममा समावेश गीत पहिले नै सार्वजनिक भइसकेको थियो, जसले फिल्मको विषयवस्तुलाई थप प्रभावकारी बनाएको छ।



