काठमाडौं — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका लगानीकर्तालाई नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्। मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीका लागि राम्रो सम्भावना रहेको बताए।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रबाट लगानीका लागि नेपालमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै पूर्वाधार, पर्यटन, सूचना प्रविधि, जलविद्युत् र वातावरणीय क्षेत्रमा सम्भावना रहेको बताए। “नीतिहरू लगानीमैत्री छन्। लगानीकर्ताले स्पष्ट योजना सहित अघि बढेमा सरकार आवश्यक सबै सहयोग गर्न तयार छ,” उनले भने।
प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, जलविद्युत्, व्यापार, पूर्वाधार र पर्यटनलगायत क्षेत्रमा चासो देखाएका थिए। उनीहरूले नेपाली बजारमा दीर्घकालीन लगानीको सम्भावना र व्यावहारिक पक्षबारे छलफल गरेका थिए।
प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह र एमके सङ्ग्राह लगायत सहभागी थिए।



