काठमाडौं, साउन ३ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीको राजनीतिक शैलीबारे स्पष्ट भनाइ राखे– “ओलीको प्रतिशोधको शृंखला सुरु त रवि लामिछानेबाट भयो, अब त्यो कांग्रेस नेतृ आरजु राणामा गएर टुंगिने देखिन्छ।”
पुनका अनुसार, अहिलेका घटनाक्रमहरू हेर्दा प्रधानमन्त्री ओली विपक्षी दलहरूलाई कमजोर पार्ने र आफ्ना नजिक ल्याउने योजना बनाइरहेका छन्। उनले भने, “रविलाई सहकारी प्रकरणमा जेल हालेर रास्वपा फुटाउने काम गरियो।
अब माधव नेपाललाई मुद्दा लगाएर समाजवादी पार्टी एमालेमा गाभ्ने प्रयास चल्दैछ। उपेन्द्र यादवको पार्टी पनि फुटाएर एउटा समूह आफूतिर ल्याउने योजना छ। कांग्रेस अलि चलमलायो भने आरजु राणामाथि मुद्दा हालेर दबाब दिन खोज्ने तयारी भइरहेको छ।”
उनले अहिलेका राजनीतिक घुम्तीलाई सत्ताको दुरुपयोग भने। “ओलीको सरकार एकाधिकारवादी बाटोमा गइरहेको छ। अरूलाई धम्क्याउने, मुद्दा हाल्ने, पार्टी फुटाउने, अनि अन्त्यमा सबैलाई आफूतिर ल्याउने प्रयास छ। यही हो अहिलेको नीति,” पुनले प्रष्ट पारे।
उनले भिजिट भिसा र टेरामक्स खरिद प्रकरण जस्ता मुद्दाहरू उठाएर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत दबाबमा राख्न खोजेको बताए।
पुनका अनुसार, ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि विभिन्न निकायमार्फत फसाउने प्रयास गरेका थिए। तर प्रमाण नपाएपछि दाहालका पूर्व पीए मार्फत दवाब दिन खोजिएको थियो। “तर दाहालले यतीदेखि वाइडबडीसम्म सबै छानबिन गरौं भनेपछि ओली चुप लाग्नुपर्यो,” उनले भने।
उनले सरकारको कामकाजप्रति पनि गम्भीर आलोचना गरे। “सरकारको एक वर्ष केमा बित्यो? घूस माग्ने मन्त्रीहरू, बिचौलियाको पालो, अनि जनताको पीडा सुनुवाइ छैन,” पुनको आरोप थियो।
पुनले आफूहरू ओलीको ‘साना झुण्ड’ को निरंकुश प्रवृत्तिविरुद्ध लडिरहेको बताए। “हामी डराएका छैनौं। माओवादीमा भाँडभैलो मच्चाउने सपना ओलीले देखे पनि त्यो पूरा हुँदैन,” उनले कडाइका साथ भने।



