काठमाडौँ, साउन २२ – भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) प्रतियोगितामा उपाधि जितेका नेपाली मिक्स्ड मार्शल आर्ट (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई राष्ट्रपतिको कार्यालयमा गरिएको सम्मानप्रति भ्लगर सिसन बानियाँले गम्भीर असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा ढाँटलाई सम्मान गरे पनि बानियाँले सामाजिक सञ्जालमार्फत यो सम्मान सतही मात्र रहेको टिप्पणी गरेका हुन्।
उनका अनुसार च्याम्पियन खेलाडीप्रति राज्यको सम्मान औपचारिक मात्र भयो। उनले लेखेका छन्, “५ मिनेटको भाषण, केही फोटो खिच्ने क्रम, अनि चिया–बिस्कुटमा विदाई – के यसरी देशको लागि खेलेका च्याम्पियनलाई सम्मान गरिन्छ?” उनले कार्यक्रम स्थललाई ‘कुरूप हल’ भन्दै आलोचना गरेका छन्।
सिसनले विशेष गरी खेलाडीको परिश्रमलाई मूल्याङ्कन नगरेको र सरकारले कुनै आर्थिक सहयोग नगरेको भन्दै निराशा व्यक्त गरेका छन्। “मेरो केटाले धेरै मेहनत गरेको छ,” उनले लेखे, “यदि च्याम्पियनबाट देशलाई गौरव चाहिएको हो भने, उसलाई आर्थिक सम्मान पनि दिनुपर्छ।”
उनको भनाइ अनुसार, ढाँटजस्ता प्रतिभावान खेलाडीलाई यथोचित समर्थन र प्रोत्साहन नदिएसम्म खेल क्षेत्रको विकास सम्भव छैन।




