१५ असार, काठमाडौं — आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले संसदमा विचाराधीन निजामती सेवा विधेयकको विरोधमा कडा धारणा व्यक्त गर्दै रोष्ट्रममै त्यसको प्रति च्यातेर प्रत्यक्षरूपमा असहमति जनाएका छन्।
संसद बैठकमा बोल्दै साहले विधेयकले सबै नागरिकलाई समान रूपमा व्यवहार नगरेको र श्रेणिविहीन तथा तल्लो तहका कर्मचारीहरूका अधिकार र सुरक्षालाई बेवास्ता गरेको आरोप लगाए।
उनले प्रश्न उठाए, “अब गरिबले लोकसेवा दिनै नपाउने हो त? ट्वाइलेट सफा गर्ने, पिउन, ड्राइभर जस्ता काम गर्नेहरूको जीवन जीवन होइन?” साहले थपे, “विधेयकले उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने हो, तर उल्टै उनीहरूलाई रुवाउने खालको व्यवस्था गरिएको छ। यस्तो विधेयक स्वीकार्य छैन।”
विधेयक यथास्थितिमा पारित भए आफू त्यसको साक्षी बन्न नसक्ने भन्दै उनले रोष्ट्रमबाटै बाहिरिने घोषणा गरे। उनको यस्तो अभिव्यक्तिपछि संसद्मा केही समय चर्काचर्की र असहजता देखिएको थियो। साहले अन्य सांसदहरूलाई पनि जनताको पक्षमा उभिन आग्रह गरे।
यो घटनाले निजामती सेवा विधेयकबारे बहस झनै तात्ने देखिएको छ।



